प्रधानमन्त्री ओलीको ‘हत्या’ गनुपर्छ भनेपछि कांग्रेस सांसद वैद्यको चौतर्फी आलोचना

काठमाडौं–महात्मागान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि हत्या गर्नुपर्छ भन्ने गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिए पछि वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।

आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् । वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।

प्रतिक्रिया