काठमाडौं–हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रतिकित्ता ३४३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत (१ः१) हकप्रद जारी गर्न शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेसँगै हकप्रदमा मूल्य समायोजन गरी समायोजित मूल्य तोकेको हो ।
नेप्सेले कम्पनीको बिहीबारको कारोबार भएको अन्तिम मूल्य ५८६ रुपैयाँका आधारमा १०० प्रतिशत हकप्रदपछि मूल्य समायोजन गरेको हो । यसअनुसार अब कम्पनीको आइतबार समायोजित शेयरमूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।
कम्पनीले १ बराबर १ अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गरेर पूँजी बढाउन लागेको हो ।
उक्त हकप्रद जारी गर्न कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।