काठमाडौं – चौधरी ग्रुपले इन्टरनेटमा हात हालेपछि अन्य सेवा प्रदायकको सातो गएको छ । अहिले स्पिड बढाउने देखि लिएर आकर्षक मूल्य सार्वजनिक गर्ने होड चलेको छ ।
यसैक्रममा स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ ।
इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा निःशुल्क गरेपछि त्यसको प्रतिवादमा उत्रिन डिशहोमले यस किसिमको रणनीति लिएको हो । कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।
जसअनुसार वार्षिक ७२०० रुपैयाँ ९मासिक ५०० रुपैयाँ० मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै वार्षिक १० हजार रुपैयाँमा ८३३ रुपैयाँ० डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।
कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ । यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर, बनेपा, इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ । अब चाँडै नै विराटनगरमा समेत इन्टरनेट सेवा सुरु हुने भन्दै प्रबन्ध निर्देशक आचार्यले क्रमशः देशभर सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।