काठमाडौं–बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई अनुमति दिएको छ । हिमालयन पुनर्बीमा कम्पनीलाई अनुमति दिएको हो ।
पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयन लाई कम्पनी खोल्न सहमति दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । पुनर्बीमा कम्पनीको न्यूनतम पुँजी १० अर्ब रुपैयाँ रहने व्यवस्था छ । नयाँ कम्पनी दर्ता भए पछि यस कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) कहिले जारी गर्ला भन्ने चासो छ । तर, यसका लागि कम्पनी सञ्चालनमा आएर धितो पत्र बोर्डबाट अनुमति लएर आईपीओ निष्कासन गर्न केही वर्ष लाग्छ ।
हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरुको लगानी रहेको छ ।
बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए । निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए ।
बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो। समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो।
अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रि–इस्योरेन्स कम्पनी हो। जसमा नेपाल सरकारको ४४%, विशाल ग्रुपको ३%, राष्ट्रिय बीमा कम्पनीको २.७%, सर्वसाधारणको १६% सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर स्वामित्व छ । पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ ।