काठमाडौं–सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् । बजेट घोषणाको दिन सरकारले सुकेटारलाई स्वर्गीय अधिकारीको नामबाट र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ राख्ने घोषणा गरेको थियो ।
ताप्लेजुङबाटै प्रतिनिधित्व गर्ने योगेशले सरकारको यस्तो घोषणाप्रति असहमति जनाएका हुन् । ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यतता र सान्दर्भिकताको बारेमा सरोकारवाला समूह र जनप्रतिनिधिसहित नागरिकस्तरमा छलफल र विमर्श गरेर सहमतिमा पुग्नुपर्ने उनको भनाई छ । ‘ताप्लेजुङ सुकेटार बिमानस्थलका बारेमा ऐतिहासिक रुपमा कुनै नाम वा विषेताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ ।
यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’ उनले फेसबुकमा लेखेका छन् ।
नागरिक तथा पर्यटन मन्त्री भएकै बेला ताप्लेजुङको पाथिभरा मन्दिर नजिकैको भीरमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको मृत्यु भएको थियो । सोही दुर्घटनामा यति एयरका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको ज्यान गएको थियो ।