काठमाण्डौं–सरकारले आगामि आर्थिक वर्षका लागि बजेट ल्याए पछि सबै क्षेत्रमा करको दर हेरफेर भएकोछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गरेका आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यपछि प्रकाशित भएको आर्थिक अध्यादेशले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीलाई छुट्याई सोहीअनुसारको कर निर्धारण गरिदिएको छ ।
आर्थिक अध्यादेशमा संसोधन गरी अल्पकालीन लगानीकर्ताले पूँजीगत लाभकरबापत धेरै र दीर्घकालीनले थोरै लाभकर तिर्नुपर्ने व्यवस्था भएको हो ।
अध्यादेशले नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशतको दरले कर लाग्ने व्यवस्था गरिदिएको छ । योसँगै कुनै पनि कम्पनीको सेयरमा ३६५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्नेहरुलाई दीर्घकालीन लगानीकर्ता भन्नुपर्ने भएको छ ।
यस्तै, अध्यादेशले ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । यसको अर्थ ३६५ दिनभन्दा कम अवधिका लागि लगानी गर्ने लगानीकर्ताले अब ७.५ प्रतिशतको दरले लाभकर तिर्नुपर्ने हुन्छ । यो व्यवस्था साउन १ गतेबाट कार्यान्वयनमा आउनेछ ।
हाल सबैखालका सेयर लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्दै आएका छन् । यो व्यवस्था परिमार्जन हुनुपर्ने सेयर बजारसँग सम्बन्धित विभिन्न निकायले बजेट निर्माणमा रहेको अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । सोही सुझावअनुसार आर्थिक अध्यादेशले व्यवस्था गरेको हो ।