काठमाडौं–नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकमा भएको पछिल्लो राजनीतिक घटनाक्रम डिजाइनमा भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज विज्ञप्ति जारी गर्दै संविधानको रक्षाका लागि आँफूले संसदीय मर्यादा उलंघन गरेको बताएका छन् ।
नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको भन्ने विषयमा यस्तो जवाफ दिएका हुन् ।
‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु ।’ भुसालले लेखेका छन्,‘ तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’
दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरेको उनले बताए । संसद विघटन गरेर निर्वाचनको घोषणा गरे पनि निर्वाचन नहुने र निर्वाचन भैहाले पनि जिताउने र हराउने मान्छे पहिलै निस्चित हुने उनले बताएका छन् । ‘संविधानले काम गर्दैन । वैधता गुमाउने छ ,’ भुसालले लेखेका छन्, ‘त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ ।’
भुसालले फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने षडयन्त्र भएको समेत बताए ।