काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा संविधानको चिर हरण गरेको भन्दै विपक्षी गठ बन्धनका नेता सर्वोच्च अदालत जाने भएका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट निवेदन लिएर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड,एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव आँफै अदालत जाने भएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ । गोविन्द बन्दी,खम्ब खाती लगायतका वकिलहरुले रिटको मस्यौदा तयार पारेका छन् ।
सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई अहिले विहान ११ बजे बोलाइएको छ । त्यहाँ रीटको ड्राफ्टमा हस्ताक्षर गरेर सर्वाेच्च जाने भनिएको छ ।
यसपटक अदालतमा रिट निवेदकको तर्फबाट एमाले नेता भीम रावल र कांग्रेस नेता रमेश लेखकले समेत बहस गर्ने भएका छन् ।