काठमाण्डौ—प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही भोलि जेठ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाइ जारी गर्न लागेको हो। यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यो एउटा बन्दमुखि योजना हो। यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात यो एउटा इक्विटी ओरियन्डेड योजना हो।
निष्काशित कुल १० करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कुल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्। फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले जनाएको छ।
नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसमध्येका कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनोट गरी तीमध्ये अधिकतम ३० वटा कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ।