गण्डकीका सांसदको नक्कली कोरोना रिपोर्ट बनाउन सघाउने डाक्टरलाई डिन पद उपहार

काठमाडौं—गण्डकी प्रदेश सांसद खिम बिक्रम शाहीको नक्कली कोरोना रिपोर्ट बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता जोगाउन सघाउने डाक्टर डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन उपहार पाएका छन् । शाहीले गुरुङलाई गुन लगाए बापत डिन बनेको चर्चा चलेको छ । डाक्टर नागिलाले शक्तिकेन्द्रका लागि गलत काम गरेर डिन पद हत्याउन सफल भएको आरोप लागेको छ ।

मुख्यमन्त्री गुरुङका विरुद्ध संसदमा अविस्वासको प्रस्तावमा मतदान हुँदै थियो । सरकारी अस्पतालमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । त्यही बीचमा डा. नागिला सञ्चालक रहेको लाइफकेयर डाइग्नोस्टिकले सांसद शाहीको रिपोर्ट पोजिटिभ निकालेर मुख्यमन्त्रीलाई सहयोग पु¥याएको थियो । त्यही पोजेटिभ रिपोर्टको बहानामा सांसद अस्पताल भर्ना भए । त्यही कारणले मुख्यमन्त्रीको पद जोगियो ।

विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिन नियुक्त गरेको हो । नागिला हाल स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक हुन् । अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहँदाकै दिन सांसद शाही सम्पर्कविहीन भएका थिए । त्यही दिन डा. नागिला सञ्चालक रहेको लाइफकेयर डाइग्नोस्टिकले सांसद शाहीको रिपोर्ट पोजिटिभ निकालेको आधारमा अर्को अस्पतालमा भर्ना गरिएको थियो । राजनीतिक घटनाक्रममा आफ्नो ल्याबको नाम जोडिएपछि डा. नागिलाले जोडघटाउसँग आफ्नो ल्याबको कुनै सम्बन्ध नरहेको भन्दै बचाउ गरेका छन् ।

स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिलासहित कार्यकारी परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको डिनमा डा. अजय थापा र विज्ञान तथा प्रविधि संकाय डिनमा डा. रमेशकुमार ठगुराठीलाई नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

डा. अजय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङका सह–प्राध्यापक हुन् भने डा. ठगुराठी स्कुल अफ ईञ्जिनियरिङका सह–प्राध्यापक हुन् । डिनको कार्यकाल चार वर्ष हुन्छ ।

त्यस्तै विश्वविद्यालयको परीक्षा नियन्त्रकमा चार वर्षका लागि डा. तुल्सीराम भण्डारी नियुक्त भएका छन् । भण्डारी स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सह–प्राध्यापक हुन् ।

प्रतिक्रिया