अपी पावरले ५६ करोडको हकप्रद शेयर जारी गर्ने मिति तय

काठमाण्डौ–अपी पावर कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर जारीगर्ने भएको छ । ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको यो दोस्रो चरणको हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत वैशाख १९ गते अनुमति दिएको थियो । यसअघि कम्पनी पहिलो चरणमा यही अनुपातमा हकप्रद निष्कासन गरिसकेको छ ।

कम्पनीले यो हकप्रद बिक्रीबाट ४० मेगावाट क्षमता माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माणका लागि पुँजी जुटाउन लागेको हो । यो आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यो हकप्रद प्रयोजनार्थ कम्पनीले गत वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ गत वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन योग्य भएका छन् ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा आवेदन दिने अन्तिम मिति असार ९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया