कोभिड उपचारमा उद्योगपति विनोद चौधरीको १० करोड सहयोग

काठमाडौं—कोभिड १९को महमारीमा निजी क्षेत्रले सहयोग नगरेको भनेर आलोचना भैरहेका बेला उद्योगपति बिनोद चौधरीले करिब १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले आफ्नो चौधरी फाउन्डेसनबाट कोभिडका विरामीको उपचारमा सघाउन आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न करिव १० करोड रुपैयाँ खर्चिने घोषणा गरेका छन् ।

चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउण्डेसनले घोषणा गरेको छ । चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) सँग सम्झौता गरेर काम अघि बढाउने चौधरी फाउन्डेसनले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक÷एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने जनाएको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न टिम अहोरात्र खटिएको चौधरी फाउण्डेसनले जनाएको छ । धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्ने अपेक्षा गरिएको छ । चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ । यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गर्ने योजना बनाएको छ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले सहयोगका कार्यक्रम अघि बढाएको बताए ।

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रमअन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो । फाउन्डेसनले केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएको थियो । चौधरी ग्रुपले हरेक विपदमा जनताको साथमा रहेर उनीहरूको पीडामा साथ दिँदै आएको छ ।

प्रतिक्रिया