काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्ने स्वीकृति पाउनेको कम्पनीको संख्या ८८ पुगेको छ । बोर्डले आइतबार सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र कुमारी इक्विटी फन्डलाई स्वीकृति दिएको हो ।
यसअघि गत वैशाख ६ गते धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेस्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, जे–नेक्स इन्भेस्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र नेपाल बैंक गरी ९ कम्पनीलाई यस्तो स्वीकृति प्रदान गरेको थियो। त्यसअघि धितोपत्र बोर्डले ७४ वटा कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको छ ।