काठमाण्डौ—बैंकका शाखामा सर्वसाधारणको बाक्लो उपस्थिति हुँदा कोरोना संक्रमण फैलिने भन्दै बैंकहरुले प्रदान गर्दै आएको सेवा कटौती गर्ने भएका छन् । बैंकले खातामा नगद जम्मा गर्ने सीमा तोकेका छन् । अब बैंकले ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नलिने भएका छन् ।
सेवा घटाउँदै बैंकले ५ प्रकारका सेवा मात्र दिने भएका छन् । सोहीअनुसार व्यवस्था मिलाउन वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकहरुलाई निर्देशन दिएको छ ।
ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भीडभाड नगर्न र जोखिम कम नर्गका लागि निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत खाताबाट नगद झिक्ने, रकम स्थान्तरण गर्ने (चेक), आइपीएस र आरटीजीएस आदि), विप्रेषण भुक्तानी र अन्तराष्टिय व्यापारको सेवा मात्र प्रवाह हुने भएको छ । यीबाहेक अन्य सेवा तत्कालका लागि शाखाबाट नपाइने संघले प्रष्ट पारेको छ ।
यी पाँचबाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने बताइएको छ ।
संघले एक विज्ञप्तिमार्फत नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गरिदिन आग्रह गरेको छ । डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।