एक अर्ब पाँच करोडको नयाँ आईपीओ आउँदै

कामाण्डौ—विभिन्न कम्पनीहरुले पुँजी बजारमा शेयर निष्कासन गरिरहेको अवस्थामा अर्को एक कम्पनीले पनि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । साहास ऊर्जाको एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निष्काल्ने भएको छ ।

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा गत चैतमा नै निवेदन दिएको छ । आइपीओ निष्कासन अनुमतिका लागि प्रक्रियामा रहेको बोर्डले नजाएको छ । बोर्डबाट अनुमति पाउना साथ आईपीओ निष्कासन गर्ने कम्पनील जनाएको छ ।

संङखुवासभामा निर्माण भइरहेको ८६ मेगावट क्षमताको उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ छ।
यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ ।

जसबाट आयोजनाले वर्षायाममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्रि गर्ने छ।

प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबी+ रेटिङ पाएको छ । यसले अर्थ कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्छ भन्ने हो ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहेको आयोजनाले स्वपूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारण र स्थानीय प्रभावितलाई बितरण गर्ने जनाएको छ । बाँकि ७० प्रतिशत सेयर संस्थापक समुहले लिएका छन्। आयोजनामा आठ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन ऋण लगानी भएको छ ।

आयोजनाको संस्थापक सेयर धनीतर्फ महेन्द्रकुमार गिरी २.२९ प्रतिशत, शुसिल थापा २.११ प्रतिशत, अनुपमा थापा २.०४ प्रतिशत र हिम पाठक १.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ।आयोजनाको निर्माण करिब ७० प्रतिशत सकिएको छ। सुरुङमार्गतर्फ भने ८५ प्रतिशत निर्माण सकिएको आयोजनाका सञ्चालक हिम पाठकले जानकारी दिए। सोलु करिडोर प्रसारण लाइन समयमै निर्माण नहुँदा आयोजनाको निर्माण सम्पन्न हुने कार्यतालिका पनि प्रभावित भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया