काठमाडौं—माधब कुमार नेपाल पक्षको माग सम्बोधन नगरे पछि नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरे पनि नेपाल पक्षका आठ सांसद ओलीलाई मतदान गर्न संसदमा पुगेका छन् ।
ओलीलाई मतदान गर्न तीन प्रत्यक्ष निर्वाचित सांसद र पाँच समानुपातिक सांसद उपस्थित भएका हुन् ।संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
संसदबाट विश्वासको मत लिने केही घण्टा अगाडि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल पक्षीय सांसदलाई लक्षित गर्दै समस्या भए छलफल गर्न तयार भएको बताएका थिए । ओलीले खनाल– नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका थिए । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले छलफलको लागि आह्वान गरेका हुन्। ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।
ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’