काठमाडौं—संसदबाट विश्वासको मत लिने केही घण्टा अगाडि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल पक्षीय सांसदलाई लक्षित गर्दै समस्या भए छलफल गर्न तयार भएको बताएका छन् । ओलीले खनाल– नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन्। एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले छलफलको लागि आह्वान गरेका हुन्।
ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, उनले भनेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ ।’