काठमाडौं— निजी क्षेत्रका छाता संस्थाले सरकारलाई कर तिर्ने समय थप गर्नइ माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषंघ र नेपाल चेम्बर अफ कमर्शले अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न माग गरेका छन् । कोभिडले निषेधाज्ञा जारी गरे पछि उद्योग, व्यापार, व्यवसाय बन्द भएकाले कर तिर्ने समय थप्नुपर्ने उनीहरुको तर्क छ ।
हरेक महिनाको २५ गते अघिल्लो महिनाको कर तिनुपर्ने प्रावधान रहेको छ । महासंघका अनुसार कोभिडको कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न कठिनाई भएको छ । मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न अनुरोध गरको जनाएको छ ।
बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन भएको जनाएको छ । निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले कर बुझाउने समय थप्न माग गरेको नेपाल उद्योग परिसंघले जनाएको छ । कर विवरण र कर रकम दाखिला गर्ने म्याद थप गरिदिने व्यवस्था मिलाउन नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ ।