काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा सीमित नराखी त्यसमा व्यवस्था गरिएका अधिकार र उपलब्धि आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकको सर्वोच्चता नै प्रमुख हुने बताए। उनले संविधानले परिकल्पना गरेको न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणका लागि सरकार तथा सबै सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे।
संविधान दिवस मनाइरहँदा मुलुक बाढीपहिरोलगायत प्राकृतिक विपद्को पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
राष्ट्रपति पौडेलले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिन सरकारलाई आग्रह गरे। विस्थापित परिवारको पुनःस्थापनालाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले नेपालको संविधानलाई नेपाली जनताको सात दशकभन्दा लामो आन्दोलन, त्याग र बलिदानको प्रतिफलका रूपमा स्मरण गरे। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिलाका रूपमा रहेको संविधानले नागरिकलाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्रदान गरेको उनले बताए।
प्रदेशहरूको स्थापना, एकात्मक शासन प्रणालीको अन्त्य तथा बहुलवादमा आधारित समावेशी राज्य निर्माणलाई संविधानका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधानमा लेखिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न अझै चुनौती रहेको बताए।
संविधानले नागरिकका आशा, अपेक्षा र अधिकारलाई साझा प्रतिज्ञाका रूपमा समेटेको उल्लेख गर्दै उनले संविधानको मर्म व्यवहारमा कार्यान्वयन हुन नसके लोकतन्त्र बलियो बन्न नसक्ने बताए। सबै नागरिकलाई समान हक, अधिकार र समृद्धिको अवसर सुनिश्चित गर्न राज्यका संरचनागत असमानता हटाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए।