२१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से ४८ अंकले बढ्यो

काठमाडौं। मंगलबार सेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको छ। यस दिन नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ।

नेप्सेमा सुधारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो।

अर्थ मन्त्रालयले सोमबार राति पुँजी बजार सुधार, लगानीकर्ताको मनोबल बढाउन तथा बजारको दीर्घकालीन विकासलाई लक्षित गर्दै २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो। उक्त कार्ययोजनाको सकारात्मक प्रभाव मंगलबारको बजारमा देखिएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

कारोबार अवधिमा ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर किनबेच भएका छन्। बजारमा खरिदकर्ता हाबी हुँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ।

मंगलबार नेप्सेका सबै १३ वटै उपसूचक हरियालीमा बन्द भएका छन्। जीवन बिमा, निर्जीवन बिमा तथा वित्त समूहका कम्पनीको सेयर मूल्यमा तुलनात्मक रूपमा बढी सुधार आएको छ। यी समूहको वृद्धिले समग्र बजार परिसूचक बढाउन समेत टेवा पुगेको देखिन्छ।

आजको कारोबारमा २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश घोषणा गरेपछि लगानीकर्ताको आकर्षण यसको सेयरतर्फ बढेको देखिएको छ।

रिलायन्स स्पिनिङ मिल्सपछि शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकको सेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ।

समग्रमा मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य बढ्नु, सबै क्षेत्रगत उपसूचक सकारात्मक रहनु तथा कारोबार रकम ८ अर्ब रुपैयाँभन्दा माथि पुग्नुले बजारमा खरिदकर्ताको सक्रियता बढेको संकेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय