आठ महिनामा साढे ५ अर्ब विदेशी लगानी भित्रियो


काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ ।  उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो रकमसहित चालु आर्थिक वर्षको ९ महिनामा कुल २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख विदेशी लगानी प्रतिबद्धता आएको हो । राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार भने ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ भित्रिएको छ । सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ भित्रिएको हो । यो महिनामा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ  । 
गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता हुँदा ५ अर्ब ९६ करोड १३ लाख मात्रै भित्रिएको थियो । आर्थिक वर्ष ०७८÷०७९ मा ५४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ रकम आएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको तथ्यांक छ ।
गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म १५९ वटा नयाँ उद्योगमा २० अर्ब ५६ करोड रुपैयाँ प्रतिबद्धता आएकामा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । 
 

प्रतिक्रिया