विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब पुग्यो

काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक नकरात्मक भएका बेला बाह्य सूचक सकरात्मक देखिएका छन् । मुलुकमा विदेशी विनिमय सञ्चिति निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

गत असारमसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा कात्तिकसम्ममा ७.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गरेको कात्तिकसम्मको विवरण अनुसार रेमिटेन्स बढेर र आयात घटे पछि सञ्चिति बढेको हो ।

विदेशी मुद्रा बाहिरेने प्रमुख माध्यम आयातमा गिरावट आइरहेको छ । जसले विदेशी विनिमय सञ्चिति बढाउन टेवा पु¥याइरहेको छ । आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आयातमा आउने गिरावटले विदेशी विनिमय सञ्चिति बढ्नु स्वाभाविक मानिएको छ ।

चार महिनामा आयात १०.८ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा चार खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको छ ।
पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको हो ।

कुल वस्तु निर्यात १०.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार ४० अर्ब २० करोड निर्यात पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ १४.९ प्रतिशतले निर्यात बढेको छ । चीनतर्फ ५९.२ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फ ६.५ प्रतिशतले निर्यात वृद्धि भएको तथ्यांकले देखाएको छ ।

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य, चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । यस्तो घाटा ३ खर्ब ६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो ।

प्रतिक्रिया