पूर्वी नवलपरासीको चोरमारा बजारस्थित गिरुबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।
मध्यबिन्दु नगरपालिका–८ मा रहेको सो पुलमा सोमबार बिहान करिब ९ बजे अत्यधिक भार बोकेको ट्रक पुलको बीच भागमा पुगेपछि पूर्वतर्फको खण्ड भासिएको हो।
पुल भासिएसँगै साना र ठूला सबै किसिमका सवारी साधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू करिब तीन किलोमिटर दक्षिणतर्फको वैकल्पिक मार्ग रानीबारी हुँदै ओहोरदोहोर गरिरहेका छन्।