सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने

काठमाडौं — ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना हुने सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिहरू सहभागी हुने भएका छन्। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संवादमा ३५० भन्दा बढी सहभागिता रहने जानकारी दिइन्।

तीन दिनसम्म सञ्चालन हुने सगरमाथा संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। परराष्ट्रमन्त्री राणाका अनुसार संवादमा संसदीय उपाध्यक्षदेखि विभिन्न मन्त्रीहरूको उपस्थिति रहनेछ। सहभागी विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेट र समकक्षी मन्त्रीहरूसँग साइडलाइन वार्ताको कार्यक्रम तय गरिएको छ।

संवाद कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र सरकारको तर्फबाट जुम्लामा ‘हिमाली संवाद’, काठमाडौंमा ‘वायु संवाद’ लगायत १० वटा पूर्वसंवाद कार्यक्रम सम्पन्न भइसकेको मन्त्री राणाले जानकारी दिइन्।

कार्यक्रममा भारत र चीनका प्रतिनिधिको सहभागिताका साथै कोप २९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिको जलवायु प्रतिनिधिले समेत सम्बोधन गर्नेछन्।

छलफलका मुख्य विषयहरूमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिमा सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापु राष्ट्रहरूमा परेको क्षति, लैङ्गिक र पुस्तान्तर समानताजस्ता १२ वटा विविध विषय समेटिएका छन्। संवादको उद्देश्य हिमाली क्षेत्रको जलवायु संकटबारे क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु रहेको बताइएको छ।

कार्यक्रमको क्रममा अतिथिहरूलाई स्वागत गरिनेछ र संवादको सन्देश समेटिएको चिनारीसहितको विशेष भिडियो पनि प्रदर्शन गरिनेछ।

प्रतिक्रिया