काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन निजी क्षेत्र सक्षम र तयार रहेको बताएका छन्। सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारको विकासमा इच्छाशक्ति र प्रविधि जोडिएमा निजी क्षेत्रले चमत्कार गर्न सक्ने दाबी गरे।
उनले नेपालमा विदेशी पर्यटकको बसाइ अवधि औसत १२ दिन मात्र हुने र प्रतिदिनको खर्च ५० डलरभन्दा कम रहेको तथ्यांक प्रस्तुत गर्दै यस्तो अवस्था पूर्वाधारको अभावका कारण भएको बताए। उनले ठूला पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटकको बसाइ अवधि र खर्च दुवै बढाउन सकिने बताए।
अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारीको वातावरण निर्माण गर्न सके पर्यटनबाट छिटो आर्थिक विकास सम्भव हुनेमा जोड दिए। उनले लगानीमैत्री नीतिको आवश्यकता औंल्याउँदै सरकारले निजी क्षेत्रलाई वास्तविक साझेदारको रूपमा व्यवहार गर्नुपर्ने बताए।
“मौखिक आह्वान मात्र पर्याप्त हुँदैन, निजी क्षेत्रलाई दीर्घकालीन नीतिगत सहजीकरण चाहिन्छ,” अध्यक्ष ढकालले भने, “स्थानीय तहहरूले लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको छ।”
उनले सबै स्थानीय तहहरूले दीर्घकाललाई लक्षित गरी संरचनागत तयारी गर्नुपर्ने र नीति तथा सहुलियतपूर्ण व्यवस्थामार्फत स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिने उल्लेख गरे।
आइएमई ग्रुपको लगानीमा गैँडाकोटको मौलाकालीमा सञ्चालित इला होटल तथा रिसोर्टसहित सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्ट निर्माणको योजना अघि बढाइएको छ। हालसम्म तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा आइसकेको आइएमई ग्रुपले जनाएको छ।