ओली इतिहासकै असफल प्रधानमन्त्री– काँग्रेस नेता पौडेल

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शनिवार बोल्दै यस्तो धारणा राखेका हुन् । उनले ओलीमाथि राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी गरे । पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए ।

‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन ।’ नेकपाभित्रको पछिल्लो विवादलाई कुर्सीको लडाईं भने । बैठक बस्ने र स्थगित गर्नेबाहेक नेकपाले केही गर्न नसकेको उनको टिप्पणी थियो । पौडेलले भने, ‘कुन दलाललाई कुन कुर्सीमा बसाउने र आफू कुन कुर्सीमा बस्ने भन्नेमा ओलीजी र प्रचण्डजीबीच झगडा चलिरहेको छ ।’

प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए । ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए । उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ । अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए ।

प्रतिक्रिया