पाँच वर्षमा डिजिटल कारोबारमा छलाङ, पाँच खर्ब क्युआर कारोबार

काठमाडौं — पछिल्लो पाँच वर्षमा डिजिटल प्रविधिको तीव्र विकास र कोभिड–१९ को प्रभावपछि नेपालमा डिजिटल भुक्तानीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। स्मार्टफोनको सहज पहुँच, इन्टरनेट सेवाको विस्तार र मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, वालेट, इन्टरनेट बैंकिङ जस्ता सुविधाहरूको बढ्दो प्रयोगले गर्दा सर्वसाधारणदेखि व्यवसायीसम्म डिजिटल कारोबारमा आकर्षित भएका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार डिजिटल कारोबारमा आपूर्ति र माग दुवैतर्फ सन्तुलन कायम हुन थालेपछि डिजिटल भुक्तानी उल्लेख्य रूपमा विस्तार भएको हो। उनका अनुसार विद्युतीय भुक्तानीका विभिन्न माध्यम सर्वसाधारणको पहुँचमा पुग्न थालेपछि यसले कारोबारी संरचना नै परिवर्तन गरेको छ।

राष्ट्र बैंकका तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्युआर कोडमार्फत कारोबारको संख्यामा वार्षिक २३० प्रतिशत र कारोबार रकममा २१० प्रतिशतले वृद्धि भएको छ। यही अवधिमा कुल विद्युतीय कारोबारको संख्यामा औसत ४३.५ प्रतिशत र रकममा २३.७ प्रतिशतको वृद्धि भएको छ।

२०७७ साउन यता वालेट खाता ४.१२ गुणा, प्रिपेड कार्ड ३.८८ गुणा, र मोबाइल बैंकिङ प्रयोगकर्ता २.३२ गुणा वृद्धि भएका छन्। २०७८ असारमा दुई लाख ८२ हजारमा सीमित क्युआर मर्चेन्ट कोड २०८१ पुससम्म आइपुग्दा २३ लाख ४२ हजार पुगेको छ।

आर्थिक वर्ष २०७७/७८ मा ५५ लाख क्युआर कारोबारबाट २० अर्ब २८ करोड रुपैयाँ कारोबार भएकोमा २०८०/८१ मा १६ करोड ९३ लाख क्युआर कारोबारबाट पाँच खर्ब बराबरको कारोबार भएको देखिन्छ।

२०८१ माघसम्म मोबाइल बैंकिङ खाताको संख्या दुई करोड ६५ लाख, डेबिट कार्डको एक करोड ३४ लाख र वालेट खाताको संख्या दुई करोड ५८ लाख पुगेको छ। जनसंख्याको अनुपातमा मोबाइल बैंकिङ प्रयोग ४० प्रतिशतबाट ८९ प्रतिशत र वालेट खाता २२ प्रतिशतबाट ८६ प्रतिशतमा पुगेको छ।

वित्तीय साक्षरतामा आएको सुधार, स्मार्टफोनको सर्वसुलभता, परम्परागत भुक्तानी प्रणालीको रुपान्तरण र सरकार तथा राष्ट्र बैंकले अवलम्बन गरेका नीतिका कारण डिजिटल भुक्तानी क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको राष्ट्र बैंकको निष्कर्ष छ।

डिजिटल अर्थतन्त्रको विस्तारसँगै कारोबारमा पारदर्शिता, समय तथा लागतको बचत भएको छ। राष्ट्रिय भुक्तानी स्विच सञ्चालनमा आएसँगै कारोबार झनै सहज र प्रभावकारी भएको छ।

हाल २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १५ वटा वित्त कम्पनी, ११ वटा लघुवित्त संस्था, ९ वटा भुक्तानी प्रणाली सञ्चालक र २५ वटा भुक्तानी सेवा प्रदायक सक्रिय छन्।

अन्तरदेशीय कारोबारमा समेत विद्युतीय भुक्तानी सम्भव भएपछि नेपालमा रूप पे, अली पे प्लस र वी च्याट पेजस्ता उपकरणबाट पनि कारोबार हुने गरेको छ। २०८१ साउनदेखि माघसम्म मात्र विदेशबाट १०.१२ करोड रुपैयाँ बराबरको ५१ सय कारोबार भएका छन्।

डिजिटल भुक्तानीको व्यापक प्रयोगले गर्दा अब सर्वसाधारण नगद पैसा नबोक्ने प्रवृत्तिमा गइसकेका छन् भने कारोबारमा प्रयोग हुने नोटको संख्या घट्दै गएको छ।

प्रतिक्रिया