पठनपाठन सुरु गरे पछि एउटै विद्यालयका ३२ विद्यार्थीमा कोरोना संक्रमण

 

काठमाडौं– कोभिड–१९को कारण शैक्षिक संस्था बन्द भए । संक्रमण कम भएको स्थानमा स्थानीय तहले आवश्यकता अनुसार शैक्षिक संस्था खोल्न दिने सरकारले निर्णय ग¥यो ।

केही विद्यालयले त्यसलाई आधार बनाएर विद्यालय खोले । विद्यालय खोले पछि केही विद्यालयमा संक्रमण व्यापक फैलिएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा कोरोना व्यापक रुपमा फैलिएको हो । एकै विद्यालयमा बस्ने छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा कोरोना पुष्टि भएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो । संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका थिए । करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । लामो समयको लकडाउनपछि हुम्लाका महाबौद्ध र लिमीका दुइटाबाहेक अन्य विद्यालय कात्तिक दोस्रो साताबाट खुलेका थिए । अत्यधिक चिसो हुने यहाँ फागुनमा शैक्षिक सत्र सुरु भएर कात्तिकमा अन्तिम परीक्षा हुने गर्छ । यसपटक कोरोनाको कारण दसैंलगत्तै विद्यालय खुलेका थिए । कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए । संकट व्यवस्थापन केन्द्रले बाहिरबाट आउनेलाई जिल्ला प्रवेशमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया