काठमाडौं–चीनले असहयोग गर्दा लामो समयदेखि करिब सात सय कन्टेनर चीनको सीमा क्षेत्रमा अलपत्र परेका छन् । विभिन्न बहाना बनाएर रसुवागढी र तातोपानी नाका सहज रुपमा सञ्चालन नहुँदा नाकामा अबौं रुपैयाँका सामान अलपत्र परेका छन् ।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिनाका अनुसार अहिले चीनको सीमा क्षेत्रमा करिब सात सय कन्टेनर करिब १० महिनादेखि रोकिएका छन् । करिब १२ सय कन्टेनर लामो समय रोकिए पनि अहिले दिनमा दुई÷चार वटा मात्र कन्टेनर छाडेकाले समस्या भएको हो ।
तातोपानी र रसुवागढी नाका सञ्चालन भए पनि दिनमा दुई÷चार कन्टेनर मात्र छाड्दा समस्या आएको हो ।
चीनबाट नेपालमा वार्षिक करिव दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ । कोभिड¬—१९ प्रकोपका बीच पनि पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो । एक अर्ब १९ करोड रुपैयाँका सामान चीनतर्फ निर्यात भएको छ । चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ ।
नेपाली व्यापारीले लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल लगायतका सामान आयात गर्छन् । चीनबाट पानी जहाजबाट भारत हुँदै सामान ल्याउँदा ४०÷४२ दिन लाग्छ । कुनै अबरोध नभए तातोपानी र केरुङबाट ल्याउँदा २०÷२२ दिन मै सामान आइपुग्छ ।
नेपाल र भारतमा कोरोना संक्रमण बढ्यो । मान्छे आवतजावतमा बन्द गरे पनि सामान आयात, निर्यात निर्वाध रुपमा भैरहेको छ । नेपालबाट फ्रि तिब्बत गतिविधि हुन सक्ने आशंकामा सकेसम्म नेपालसँगका नाका खोल्ने चीनको भित्री इच्छा नभएको नेपाली व्यवसायीको बुझार्ई छ ।