कुलमानको उत्तराधिकारी हितेन्द्रदेव शाक्य ! को हुन् शाक्य ?

काठमाडौं–मुलुकलाई लोडसेडिङ मुक्त बनाएर आम नागरिकबाट प्रशंसा बटुलेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुर्ननियुक्ति गरेन । घिसिङलाई पुनः कार्यकारी निर्देशकको जिम्मेवारी दिएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने जन दबाब भए पनि विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीको अरुचीका कारण घिसिङ प्राधिकरणबाट बाहिरिएका थिए । सरकारले जिम्मेवारी दिए काम गर्ने घिसिङले बताउँदै आए पनि नेकपा भित्रको राजनीतिक स्वार्थ नमिल्दा घिसिङ प्राधिकरणबाट बाहिरिए ।

प्राधिकरणको कार्यकारी निर्देशक को बन्छ भन्ने अडकलबाजी भैरहेका बेला हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने तयारी भैरहेको स्रोतको दाबी छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरण सञ्चालक समितिको बैठकले कार्ज फिर्ता गरेर पुनः प्राधिकरणमा ल्याउने निर्णय गरेसँगै कार्यकारी निर्देशकको जिम्मेवारी दिन काजमा फिर्ता गरिएको हुन सक्ने बताइको छ । शाक्य प्राधिकरण भित्र सवैभन्दा सिनियर कर्मचारी हुन् । एनइए इन्जिनियरिङ प्राधिकरण माताहतको संस्था हो । शाक्य कुलमानका उत्तराधिकारी हुन लागेको प्राधिकरण स्रोतले बतायो ।

ऊर्जामन्त्री बर्षमान पुनले शाक्यलाइ काजमा फिर्ता गर्न निर्देशन दिएका हुन् । कुलमानको अवकासपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पूरा गर्दै आएका छन् । शाक्य फिर्ता भए पछि वरिष्ठताका आधारमा स्वतः निमित्त कार्यकारी निर्देशक भएका छन् । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै शाक्यलाई काजमा पठाएका थिए ।

सरकारले जिम्मेवारी दिए आफू कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गर्न तत्पर रहेको शाक्यले बताए । प्राधिकरण सञ्चालक समितिको बैठकले काज फिर्ता गरेकाले आफू पुनः प्राधिकरण फर्किन लागेको बताए । काज फिर्ताको पत्र पाएकाले अब प्राधिकरण मै हाजिर हुने शाक्यले जानकारी दिए ।

प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका हितेन्द्र देव शाक्यसहित विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल बलिया आकांक्षीका रुपमा देखिएका थिए ।
प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् वैठकले निर्णय गर्छ । मन्त्रालय स्रोतका अनुसार शाक्य कार्यकारी निर्देशक बन्ने सम्भावना बलियो देखिएको छ । यद्यपी अन्तिम निर्णय मन्त्रिपरिषद् वैठकले निर्णय गर्ने भएकाले नियुक्ति नहुँदासम्म यसै भन्न सकिने अवस्था छैन । घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते बिदा भएका थिए ।

प्रतिक्रिया