काठमाडाैं - मेलम्ची आयोजनाको सुरुङबाट काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको चार वर्ष बितिसक्दा पनि यसलाई स्थिर रूपमा सञ्चालन गर्ने योजना अझै पनि सरकारले बनाउन सकेको छैन। मेलम्ची आयोजनाको उद्घाटन र पानी वितरणको शुभारम्भ हरेक वर्ष वा मौसममा बारम्बार गरिन्छ। मंगलबार पनि मेलम्चीको पानी पुनः काठमाडौंमा वितरण गर्न खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे, जसले मेलम्चीको यो नवौं उद्घाटन बनाएको छ।
२०७७ सालदेखि मेलम्चीको पानी वितरणको शुभारम्भ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मले गरेका छन्। हरेक खानेपानीमन्त्रीको मुख्य कार्यमा मेलम्ची पानी वितरणको उद्घाटन अनिवार्य जस्तै बनेको छ। पूर्व खानेपानीमन्त्री उमाकान्त चौधरीले त एक कार्यकालमा तीन पटकसम्म पानी वितरणको उद्घाटन गरेका थिए।
मेलम्चीको मुहान हरेक वर्ष बाढीले क्षति पुर्याउने गरेको छ। मुहान मर्मतपछि हिउँदमा प्रधानमन्त्री वा मन्त्रीले उद्घाटन गर्ने प्रचलन बनिसकेको छ। २०७७ असारमा मेलम्चीको सुरुङमा पहिलो पटक पानी पठाइएको थियो। त्यसपछि बाढीले क्षति पुर्याएपछि पुनर्निर्माण गरी ०७७ फागुनमा पुनः पानी पठाइएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विभिन्न ठाउँमा उद्घाटन गरेका थिए।
२०७८ सालको बाढीले पुनः हेडवर्क्स पुरेपछि मेलम्चीको पानी वितरण स्थगित भएको थियो। त्यसपछि विभिन्न मर्मत कार्य र उद्घाटनको सिलसिला जारी रह्यो। हरेक वर्षको बर्खामा मेलम्चीको मुहानमा बाढीपहिरोले समस्या सिर्जना गर्ने गर्छ, जसका कारण सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँछ।
यस पटक खानेपानीमन्त्री यादवले हेलम्बु गाउँपालिकाका स्थानीयसँग वार्ता गरी बाढीले पुर्याएको क्षति पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। हेलम्बुका स्थानीयले २०७८ सालको बाढीपछि आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए। मन्त्री यादवले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि मंगलबार सुरुङमा पानी पठाउन सुरु गरिएको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार यस पटक विगतको तुलनामा तीन महिना अघि नै पानी वितरण सुरु गरिएको छ। दैनिक रूपमा मेलम्चीबाट २० करोड लिटरभन्दा बढी पानी सुन्दरीजलमा आएको भए पनि प्रशोधन केन्द्रको क्षमता १७ करोड लिटर मात्र भएकाले बाँकी पानी वाग्मतीमा पठाइने गरिएको छ।
मेलम्ची आयोजनाले हरेक वर्षको बाढीपछि मर्मत र उद्घाटन गर्नुपर्ने बाध्यता देखाएको छ। स्थायी समाधान नहुँदासम्म यो स्थिति फेरि पनि दोहोरिनेसं भावना छ। आजको कान्तिपुर दैनिकबाट