अर्थतन्त्रलाई ओत प्रदान गर्न महासंघमा दरिलो नेतृत्व आवश्यक–चन्द्र ढकाल

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।

आफ्नो समुहका उम्मेदवारहरुसँगको भर्चुअल अन्तरकृयामा ढकालले भने –‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भैसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाईर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरबपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै ढकालको भनाई थियो । महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यवसायिक नेटवर्कसहितको सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा उनको जोड थियो ।
महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने ढकालले बताए ।

प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबैलाई आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।
कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफि नहुने बताउँदै, ढकालले त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए ।

देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी ल्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्न सक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने बताएका छन् ।

प्रतिक्रिया