कांग्रेसको आज पदाधिकारी बैठक, पौडेलका १६ बुँदे सर्त

काठमाडौं– कोभिडको कारण लामो समय रोकिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने पूर्व सन्ध्यामा आज पदाधिकारीको बैठक बस्ने तयारी भएको छ । कोभिडले आक्रान्त भएको अवस्थामा सरकारले प्रभावकारी रुपमा उपचार गर्न नसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गराउने पनि कांग्रेसको तयारी छ ।

बैठकमा आगामी २१ गतेका लागि आयोजना गरेको केन्द्रीय समितिको बैठकमा लैजाने एजेण्डाको बारेमा पनि छलफल गर्ने तयारी भएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १६ बुँदे सर्तको विषयमा पनि कुरा राख्ने भएका छन् ।

पार्टी सभापति देउवालले एकलौटी रुपमा विभाग लगायतका पार्टी गतिविधि गरेको भन्दे वरिष्ठ नेता पौडेल पक्षका नेताले १६ बुँदे सर्त राखेका थिए । रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित २७ केन्द्रीय सदस्यले देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पार्टीको संगठन समायोजनको काम अझै नसकिएको, सकिएको ठाउँमा पनि संस्थापन पक्षले कैलालीसहितका जिल्लामा क्रियाशील सदस्यता नपठाएको पौडेल पक्षको आरोप छ । सर्लाहीसहितका जिल्लामा केन्द्रीय निर्वाचन समितिले गरेकोे निर्णयलाई जिल्ला नेतृत्वले नमानेको, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लाको समायोजन प्रकृया पुरा नभएको, केन्द्रीय निर्वाचन समितिको परिपत्रअनुसार समायोजन सम्बन्धी निर्देशिका अनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङ समायोजन सकिए पनि क्रियाशील सदस्यता नदिएको र सोलुखुम्बुमा केन्द्रीय निर्वाचन समितिले जाँचबुझ गरी क्रियाशील सदस्यताको लागि सिफारिस गरिसकेको महिनौं बितिसक्दा समेत क्रियाशील सदस्यता रोकिएकाले यसलाई हटाउन माग गरेका छन् ।

पार्टी नेतृत्वका कारण भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग अवस्थामा रहेको , विदेश स्थित जनसम्पर्क समितिहरूमा पनि मनलाग्दी सदस्यता वितरण र समिति गठन गरेको जनाउँदै त्यसलाई सच्याउनुपर्ने, जनसम्पर्क समितिहरू अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतमा मनोमानी अन्त्य गनुपर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया