प्रधानमन्त्री ओलीद्वारा प्रचण्ड समक्ष पार्टी फुटाउने प्रस्ताव !

काठमाडौं–नेकपाका अध्यक्ष द्वयबीच गम्भिर मतभेद भएपछि पार्टी गम्भिर संकटमा परेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पेलेर अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायत असन्तुष्ट छन् ।
पछिल्लो समय कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीमाथि अविस्वासको प्रस्ताव प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषयमा गम्भिर मतभेद देखिएको छ ।

करिव दुई हप्तादेखि ओली र प्रचण्डबीचको सम्वानहिनता शनिवार तोडिएपछि प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर(फुटाएर) जान प्रस्ताव प्रचण्ड समक्ष गरेको सेतोपाटीले लेखेको छ । प्रचण्डले आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा ओलीले यस्तो प्रस्ताव गरेको जानकारी गराएका थिए । खुमलटार भेलामा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा ’बादल’को सहभागिता रहेको थियो ।

खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार भेलामा सहभागी एक नेताले जानकारी दिएको सेतोपाटीले लेखेको छ । ‘हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ । उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो,’ ती नेताले भने, ’हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ । बैठक बस्नुपर्छ । स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ ।’ यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको छ । खुमलटार बैठकमा सहभागी ती नेताले भने प्रचण्डले सरकारको नेतृत्व नमागेको बताए ।

दुई नेताबीच विवाद चर्किएका बेला नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकीकरण गम्भिर संकटमा पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताए । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया