काठमाडौं–अहिले किसानलाई धान काट्ने र भित्राउने चटारो छ । धान भित्राउने सिजनमा पनि विदेशबाट धमाधम चामल र धान आयात भैरहेको छ ।
चालु आर्थिक वर्षको तीन महिना असोजसम्म १० अर्ब ६० करोड रुपैयाँको धान र चामल आयात भएको छ । सरकारले नेपाललाई कृषि प्रधान मुलुक भनिरहँदा विदेशबाट आउने कृषिजन्य वस्तुको आयातले यो भनाईलाई गिज्याई रहेको छ । नेपालीको भान्सामा भारत, फिलिपिन्स, कोरिया लगायतका मुलुकबाट आयात भएको चामल पाकिरहेको छ ।
चामल मात्र नभएर अन्य खाद्यान्न पनि आयात भैरहेको छ । भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा पौने २० अर्व रुपैयाँको खाद्यान्न आयात भएको छ ।साउनदेखि असोजसम्म १९ अर्ब ७४ करोड ९६ लाख १० हजार रुपैयाँको अनाज आयात भएको हो ।
कृषिमा परिवर्तन ल्याउने आत्मनिर्भर बनाउने प्रतिवद्धता सहित कृषि तथा पशुपक्षी विकास मन्त्री भएका माक्र्सवादी नेता घनश्याम भुषाललाई यो तथ्यांकले गिज्याइरहेको छ । उनकै कार्यकर्ताले कहिलेसम्म विदेशबाट ल्याएको भात खाने भनेर कृषिमन्त्री भुसाललाई प्रश्न गर्न थालेका छन् ।
मन्त्री भुसालले कृषि क्षेत्रमा सुधार गर्छु भने पनि यो वर्ष किसानलाई समयमा मल, बीउ उपलब्ध नगराउँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । यसले यो वर्ष चामलको आयात बढ्ने देखिएको छ ।
खाद्यान्न आयातबाट सरकारले एक अर्ब ५२ करोड ७१ लख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा एक रुपैयाँको पनि कुनै खाद्य वस्तु नेपालले निर्यात गरेको छैन । यसर हेर्दा खाद्यान्नमा पूरापूर व्यापार घाटा रहेको छ । पोहोरको तुलनामा अन्य वस्तु विदेशबाट आयात घटेको छ ।
गत वर्ष असोजसम्म तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँका वस्तु विदेशबाट आयात भएकोमा यो वर्षको सोही अवधिमा दुई खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।