किन स्थगित भयो नेकपा केन्द्रीय समिति बैठक ?

काठमाडौं– पार्टी भित्र आन्तरिक विवाद चर्किंदै गएका बेला नेकपा केन्द्रीय समितिको बैठक फेरी स्थगित भएको छ । नेकपा भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले सतहमा देखिएका विवादको विषयमा सहमति नजुटे पछि बैठक स्थगित भएको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

तर, बाहिर कार्यकर्तामा निरासा पैदा हुने भन्दै नेकपाले कोभिडको कारण देखाउँदै बैठक स्थगित गरेको छ । कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको बैठक एक महिना पछि सारिएको छ । नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति प्रकाशित गरी कोभिडको कारण वैठक स्थगित गर्नु परेको बताएका छन् । नेकपा केन्द्रीय समितिको बैठक आगामि मंसिर १५ देखि १७ सम्मका लागि तोकिएको छ ।

नेकपा भित्र प्रधानमन्त्री एकलौटी ढंगले अघि बढेको आरोप लाग्दै आएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ओली पक्षका सांसदले अविस्वासको प्रस्ताव ल्याएपछि केन्द्रको विवाद प्रदेशमा पुगेको थियो । शाही प्रचण्ड निकट हुन् । शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदको सहयोगमा अविस्वासको प्रस्ताव विफल बनाएका छन् । यता कर्णालीको विवादमा अध्यक्ष ओली र प्रचण्डले छुट्टा छुट्टै पत्र पठाएपछि विवाद बल्झिएको थियो ।

प्रतिक्रिया