पर्सा—पूर्व मन्त्री मातृका यादव जिल्ला प्रशासन कार्यालय पर्सा अघि धर्ना बसेका छन् । आफ्ना कार्यकर्ता हत्यामा संलग्न विरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि प्रतिनिधि सभाका सदस्य रहेका नेकपा माओवादीका नेता यादव धर्ना बसेका हुन् ।
पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको पूर्व एमाले समर्थक कार्यकर्ताबाट हत्या भएको भन्दै बारामा पाँच दिनदेखि धर्ना लगायत आन्दोलनका कार्यक्रम जारी राखेका छन् । प्रहरीले किटानी जाहेरी दिँदा पनि दर्ता नगरेपछि मंगलबार यादव नेतृत्वमा धर्ना दिएका हुन् ।
यो घटनामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । यादवलगायतका नेताले पूर्व सांसद राजकुमार गुप्ताको नाम समावेश गरेर किटानी जाहेरी दिएका छन् । गुप्ताको नाम समावेश गरेपछि प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गर्दै आएको छ । घटनाका प्रमुख योजनाकार गुप्ता रहेको यादवको आरोप छ । गुप्ता पूर्व एमाले नेकपाका कार्यकर्ता भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा मुद्दा दर्ता गर्न अटेर गरेको स्थानीयले आरोप लगाएका छन् ।
पूर्व नेकपा एमाले र माओवादी समूहबीच झडप हुँदा चौरसियाको मृत्यु भएको थियो । चौरासियालाई पूर्व एमाले निकटले हत्या गरेको आरोप लागेको छ । नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा गत बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप मृत्यु भएको हो ।
हत्यामा संलग्न भएको आशंकामा पूर्वसांसद राजकुमार गुप्ता, हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीसहित आठ जनालाई पक्राउ गरेको भए पनि माथिको दबाबमा पाँच जनालाई प्रहरीले छाडेको थियो । अहिले प्रहरी हिरासतमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनी मात्र रहेका छन् ।