भारतीय उच्च अधिकारीको भ्रमणले नेपाल–भारत सम्बन्ध सुध्रिएला?

काठमाडौं– कालापानी–लिपुलेकको विषयमा नेपाल र भारतको सम्बन्ध बिग्रिए पछि पछिल्लो समय भारतका उच्च अधिकारीले नेपाल भ्रमण गर्न थालेका छन् । भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल नेपाल भ्रमण गरेर फर्किएसँगै भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाल आउने मिति टुंगो लागेको छ । भारत सरकारले नरवणे आगामि कात्तिक १९ गते नेपाल आउने भ्रमण तालिका सार्वजनिक गरेको छ ।

नेपालले कालापानी–लिपुलेक सहितको नक्सा सार्वजनिक गरेपछि चीनको उक्साहटमा नेपालले नक्सा सार्वजनिक गरेर विवाद सृजना गरेको अभिव्यक्ति दिएका सेनाध्यक्षको तीन दिने नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणमा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

रअ प्रमुखको भ्रमणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । भारतले नेपालमा रअ मार्फत माइक्रो म्यानेजमेन्ट गर्दै आएको आरोप लागेका बेला केही समयदेखि राजनीतिक सम्बन्धमा परिणत भएको बताइएको थियो । सीमा विवाद, प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन चलखेल गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । अहिले फेरी रअका प्रमुख आएर सम्बन्ध सुधारको प्रयास सुरु भएको बताइएको छ । त्यसपछि सेनाध्यक्ष प्रमुख नेपाल आउँदैछन् ।

कुटनीति क्षेत्रका जानकारहरु भारतसँगको सम्बन्ध सुधार गर्नका लागि नै प्रधानमन्त्री ओलीको निमन्त्रणामा रअका प्रमुख आएको बताउँछन् । रअ प्रमुखको भ्रमणको बारेमा टिप्पणी भैरहेका बेला परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रअ प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा आएको बताएका थिए । अब फेरी सेनाध्यक्ष आएपछि सम्बन्धले थप नयाँ उचाईमा पुग्ला ? यी प्रश्न अनुत्तरित छन् । आगामि दिनमा भारतले गर्ने व्यवहारबाट प्रमाणित हुँदै जाला ।

 

प्रतिक्रिया