पार्टी सचिवको हत्या गर्ने पूर्व एमालेलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । नेकपा पर्सा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको मृत्युको विषयलाई लिएर प्रचण्डले एक विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

पूर्व नेकपा एमाले र माओवादी समूहबीच झडप हुँदा चौरसियाको मृत्यु भएको थियो । चौरासियालाई पूर्व एमाले निकटले हत्या गरेको आरोप लागेको छ । नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा गत बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप मृत्यु भएको हो ।

आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरेको बताएका छन् । पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गरेको स्मरण गर्दै प्रचण्डल दोषी उपर कारबाहीको माग गरेका हुन् ।

‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया