काठमाडौं– कुटनीतिक मर्यादा विपरित प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता बारेमा गम्भिर आलोचना भएको छ ।
भेटवार्ताको विषयलाई लिएर साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ओली नेतृत्वको सरकारमाथि आठ गम्भिर प्रश्न गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले ‘भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको दाबी गरेपछि मिश्रले त्यसको खण्डन गर्दै गम्भिर आपत्ति व्यक्त गरेका छन् ।
मिश्रका ८ प्रश्न
१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलि मात्र होइन, पूर्ण रूपमा हेपेको हो कि होइन ?
३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?
५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन ?
६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?