काठमाडौ– नेपाल सरकारले शुक्रबारदेखि ‘क्लिन फिड’ (विज्ञापनरहित) विदेशी टेलिभिजन प्रशारण गर्ने नीति कार्यान्वयनमा ल्याए पछि नेपालमा प्रशारण हुँदै आएका एक सय ६० विदेशी च्यानलको प्रशारण बन्द भएका छन् । यहाँ करिब दुई सय विदेशी च्यानल प्रशारण हुँदै आएका थिए ।
शुक्रबार राती १२ बजेबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिन फिड लागू गरे पछि क्लिन फिडको नीति अनुसार प्रशारणका लागि तयारी नभएका एक सय ६० विदेशी च्यानलको प्रशारण रोकिएको हो ।
क्लिन फिड लागु गरे पछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले पैसा नतिरेसम्म विज्ञापन प्रशारण गर्न पाउँदैनन् ।
नेपाल केबल टेलिभिजन एसोसिएसनका अध्यक्ष सुधिर पराजुलीका अनुसार विदेशी च्यानलले क्निल फिडका लागि आवश्यक उपकरण उपलब्ध नगराएका कारण प्रशारण रोकिएको हो । ‘३२ च्यानल प्रशारण भएका छन्,’ पराजुलीले भने, ‘केहीले प्राविधिक तयारी गरिरहेका छन् भने केहीका सामान आउँदैछन् ।’
भारतीय च्यानल जी टिभीका १२ च्यानल प्रशारण भएको पराजुलीले बताए । पराजुलीका अनुसार सोनीका १८ च्यानलका लागि बक्स उपलब्ध गराएको छ ।
यहाँ प्रशारण हुने विदेशी च्यानलले क्लिन फिडका लागि उनीहरुले नै आवश्यक उपकरण उपलब्ध गराउनु पर्दछ ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली २०७७ बमोजिम कार्यान्वयन गरिएको हो ।
नेपालमा प्रसारण हुने भारतीय च्यानलले विज्ञापनसहित प्रसारण गर्दै आएका थिए । यही कारण नेपाली विज्ञापन बजारले अर्बौं रूपैयाँ घाटा बेहोर्दै आएको छ । नेपालमा बिक्री–वितरण हुने भारतीय उत्पादनका लागि नेपालमा विज्ञापनमा खर्च गर्नुपर्ने आवश्यकता थिएन । भारतीय च्यानलमा आएका विज्ञापनले नै नेपाली बजारमा प्रचारप्रसार पुग्दै आएको थियो । यही कारण लामो समयदेखि नेपालका विज्ञापन एजेन्सीहरूले विदेशी च्यानललाई क्लिनफिड अर्थात् विज्ञापन रहित बनाउन माग गर्दै आएका थिए ।
क्लिन फिड लागू भए पछि नेपालको विज्ञापन बजार दुई वर्षमा दोब्बर वृद्धि हुने नेपाल विज्ञापन संंघले जनाएको छ । सामान्य अवस्थामा विज्ञापन बजार १२ अर्ब रुपैयाँ रहेकोमा दुई वर्षमा करिब २४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानललाई कानुन बमोजिम ‘क्लिन फिड’ (विज्ञापनरहित) नीति लागू गर्ने सरकारको निर्णयको नेपाली सञ्चार संस्थाले स्वागत गरिसकेका छन् ।