पार्टी अध्यक्ष ओलीको लिखित निर्देशन कर्णालीका मुख्यमन्त्रीले टेरेनन्

काठमाडौं–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको लिखित आदेश कार्यान्वयन गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अटेर गरेका छन् । ओली गुटका नेताले नै अविस्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउने सडयन्त्र गरे पछि शाहीले ओलीको लिखित आदेशलाई अवज्ञा गरेका हुन् ।

ओली गुटका नेताले आफूलाई हटाउन अविस्वासको प्रस्ताव ल्याएपछि वरिष्ठ नेता माधव नेपाल समूहका सांसदको साहारामा प्रस्ताव विफल पारेका छन् । शाही पूर्व माओवादी समूहका नेता हुन् । उनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट छन् ।

पार्टी अध्यक्ष रहेका ओलीले मुख्य मन्त्री शाहीले प्रमुख सचेतकमा गुलाबजंग शाही हटाउने निर्णय लाई फिर्ता गर्न निर्देशन दिएका थिए । आफ्नो विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता गरे पछि शाहीले गुलाबजंगलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए । नेकपा कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा नेपालीले बैधानिकता पाइसकेकी छन् ।

शुक्रबारको प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकार गरेपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको लिखित निर्देशन अलपत्र परेको छ । ओलीले गत ५ गते मुख्यमन्त्री शाहीलाई लिखित निर्देशन दिएका थिए । पार्टीमा दुई अध्यक्ष रहेका छन् । अर्का अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार हस्तक्षेप गरेर ओलीले पत्राचार गरेको पनि नेकपा वृत्तमा छलफल हुन थालेको छ ।

ओलीले मुख्यमन्त्री शाहीलाई लेखेको निर्देशनात्मक पत्रमा लेखिएको छ– ‘अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथि तपाइले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’

प्रतिक्रिया