काठमाडौं–कोभिडको कारण व्यापार व्यवसाय ठप्प छ । उद्योगीहरु नयाँ परियोजना ल्याउन पर्ख र हेरको रणनीतिमा छन् । तर, केही लगानीकर्ताले भने घरजग्गामा लगानी गरेका छन् । लामो समयको लकडाउनले सुस्त बनेको घरजग्गा कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो ।
तुलनात्मक रुपमा लगानीका लागि घरजग्गा सुरक्षित मानिन्छ । आफूसँग भएको पूँजीलाई सुरक्षित राख्न र जग्गाको भाउ बढ्ने भएकाले पैसा भएकाले जग्गाा लगानी गरेका छन् ।
असोज महिनामा मुलुकभरका मालपोत कार्यालयमा कुल एक लाख ७० हजार कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । करिब ६ महिनादेखि जग्गा किनबेच रोकिएकाले पनि अहिले कारोबार बढेको हो ।
असोज महिनामा ५६ हजार ८ सय ३८ लिखित पारित, ३ हजार ४ सय ८३ नामसारी, ४ हजार ५२ संशोधन, ५८ हजार ४ सय ७१ रोक्का र ३३ हजार ७ सय ८० फुकुवा गरेको हो । कारोबार बढेपछि एक महिनामा नै पाँच अर्ब २७ करोड २० लाख राजस्व संकलन भएको छ ।
मालपोत कार्यालयबाट सेवा करवापत ३७ करोड ९१ लाख ४१ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ९१ करोड ५२ लाख १४ हजार, पूँजीगत लाभ करबाट १ अर्ब ३३ करोड २१ लाख ८५ हजार र बिलम्ब शुल्कबाट ३१ लाख ५१ हजार ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।