डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुँदै

अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुने भएको छ ।

हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य रहेको टोली गठन गरेको छ।

यस्तै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको छ ।

डाक्टर केसी अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारका विषयमा विभिन्न ६ बुँदे माग राख्दै डाक्टर केसी १९ औं पटक अनसन बस्नुभएको हो । आज हुने छलफलको समय भने तय भएको छैन् ।

प्रतिक्रिया