दशैंमा काठमाडौंबाट गाउँ नजान सरकारले आग्रह गरेको छ । दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न सरकारले आग्रह गरेको हो।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गर्नुभएको हो ।
‘अरू जिल्लामा कोभिड–१९ क्रमशः नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ। काठमाडौं कोरोनाको उच्च जोखिममा रहेकाले दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह हो ।
‘केही दिनमा दशैं आउँदैछ। दशैंमा आफूभन्दा ठूला मानिसबाट आशिर्वाद लिने चलन छ। तर यसपालि हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा आफ्ना बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं,’ मन्त्री ज्ञवालीले भन्नुभयो,‘हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं।
त्यो भएर यो कुरालाई ख्याल गरिदिनुहोला भन्ने आग्रह छ।’ उहाँले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गर्नुभयो।