• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

खुल्यो आन्तरिक उडान, यी हुन यात्रुले पालना गर्नुपर्नेछ नियम

कोरोनाका कारण झण्डै सात महिना बन्द भएको आन्तरिक उडान आजदेखि सुचारु भएको छ । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् ।

सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको भए पनि विमान कम्पनीले पूरा सिटमा यात्रु राख्न पाउने अडान राखेर उडान भरेका थिएनन् । तर सरकारले निश्चित मापदण्ड पूरा गरेर सबै सिटमा यात्रु राख्न सक्ने व्यवस्था गरेपछि विमान कम्पनी जहाज उडाउन तयार भएका हुन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।

यस्ता छन जहाज चढ्दा पालना गनुपर्ने नियमहरु
मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ ।

प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

प्रतिक्रिया