कुलमान आजबाट विदा हुँदै

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिदै छ । २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आज चार वर्ष पुगेकाले कार्यकाल सकिएको हो ।

उनको यो पहिलो कार्यकाल सकिएपनि दोस्रो कार्यकालका निरन्तरता दिने बिषयमा भने अन्यौल बढेको छ । कुलमानको कार्यकाल थप गर्नकै लागि आज मन्त्रिपरिषदको बैठक बसे कुनै आश्चर्य नमाने हुन्छ । तर यो समाचार तयार पार्दासम्म मन्त्रीपरिषदको बैंठक बस्ने सम्भावना देखिएको छैन् ।

प्रत्येक सोमबार र बिहीबार बस्दै आएको मन्त्री परिषदको बैठक कुलमानकै कार्यकाल थप्नका लागि बस्ने सम्भावना कम रहेको बताइन्छ ।

मन्त्रीपरिषदको आज बैठक नबसे भोली बस्ने बैठकले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेबारी प्राधिकरणकै कुलमानपछिका कर्मचारीलाई कामु कार्यकारी निर्देशक दिइने सम्भावना छ । त्यसपछि विस्तारै प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशक चयन गर्ने तयारीमा सरकार पुगेको देखिन्छ ।

मन्त्रीपरिषदबाट नियुक्त नभए कुलमानले अब प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नभिडने बताउन थालेका छन् । प्रतिस्पधामा भाग नलिए कुलमान सधैका लागि प्राधिकारणको कार्यकारी निर्देशकबाट बाहिरिने छन् । सरकारले प्रतिस्पर्धाको आधारमा आफू निकट व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने सम्भावना बढेको छ ।

कुलमानलाई पुन नियुक्ति गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लागि परे पनि सफल हुने सम्भावना कम छ । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाका आधारमा प्राधिकरणको कार्यकारी निर्देशकको चयन गर्ने बताउँदै आएका छन् ।

कुलमानलाई पुनः नियुक्ति गर्ने पक्षमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई दवाव दिइरहेका छन् । तर प्रधानमन्त्री ओली भने प्रचण्डको प्रस्ताव मान्न तयार नदेखिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतको भनाइ छ ।

चार वर्षअघि मन्त्री परिषदको बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्वासी पाएका थिए ।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् । सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ ।

प्रतिक्रिया