लद्दाख विवादमा चीनको भारतलाई चेतावनी : सन् १९६२ भन्दा धेरै क्षति ब्यहोर्नुपर्ला !

भारत र चीनको सीमा विवादका विषयमा दुई देशका सेनाबीच झडप भएपछि चीनले सन् १९६२ को भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीयमा चीनसँग कुनै पनि प्रकारको प्रतिस्पर्धाको खोसिस गरेमा भारतीय सेनाले विगतको भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।

शनिबार र आइतबार पूर्वी लद्दाखमा भएको झडपपछि चिनियाँ विदेश मन्त्रालयले भारतीय आरोपको खण्डन गर्दै चिनियाँ जनमुक्ति सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार नगरेको जनाएको छ ।

चिनियाँ सेनाका प्रवक्ताले भारतले आफ्नो सेनालाई चिनियाँ भूमिमा प्रवेश गर्ने ठाउँबाट फिर्ता नबोलाए कडा चुनौतीको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतले आफ्नो बयानमा चिनियाँ सेनालाई भारतीय सेनाले लखेटेको भनिएको छ । भारतीय सेनाले हिंसात्मक क्रियाकलापलाई अगाडि बढाएको यसबाट पुष्टि हुन्छ । भारतीय सेनाले संघर्षको सुरु गरेको छ । यसको उचित जवाफ दिइनेछ ।’

चीनले भारतले आन्तरिक समस्यालाई चीन केन्द्रित गर्न खोजेको आरोप लगाएको छ । सम्पादकीयमा लेखिएको छ, ‘भारत विभिन्न घरेलु समस्याबाट ग्रसित छ । कोरोना भाइरसको संक्रमण बढ्दो छ । आइतबार एक दिनमा ७८ हजार संक्रमित फेला परेका छन् । अर्थव्यवस्था पनि खराब भएको छ । सीमामा हिंसात्मक क्रियाकलाप गरेर भारतले घरेलु समस्यालाई विकेन्द्रित गर्न खोजेको छ ।’

चीनले भारतसँग हरेक कुरामा प्रतिस्पर्धाका लागि क्षमता रहेको र देशको एक इन्च जमिन पनि अतिक्रमण गर्न नदिने जनाएको छ । भारतसँग जुनसुकै प्रकारका हतियार र प्रविधि छन, त्यो भन्दा धेरै उन्नत र आधुनिक प्रविधि चीनसँग भएको कुरा चीनले स्मरण गरेको छ । भारतले सैन्य क्षमता प्रदर्शन गरेमा भारतीय सेनाले सन् १९६२ मा भन्दा धेरै ठूलो क्षति व्यहोर्नुपर्ने चीनको चेतावनी छ ।

द्वीपक्षीय मुद्दालाई अमेरिकाको पछि लागेर भड्काउन खोजिएको भन्दै चीनले कुनै पनि प्रकारको भ्रम नपाल्न पनि भारतलाई सुझाव दिएको छ ।

प्रतिक्रिया