जटिल बन्दै कोरोना : अन्य रोगले भन्दा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या धेरै

काठमाडौं । नेपालमा अन्य रोगका कारणबाट भन्दा पनि कोभिड–१९ का कारणले मृत्यु हुनेको सङख्या बढी भएको देखिएको छ । हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आइएको थियो ।

कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी देखिएको छ ।

कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाको मृत्यु भएको छ । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले मृत्यु भएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन  । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ ।

यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ ।

अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै ७१ जनाको प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ को पनि पर्सामा सबैभन्दा बढी ३१ जनाले ज्यान गुमाएका छन । प्रदेश २ को धनुषामा १२ जनाको कोभिडका कारण मृत्यु भएको छ । बारामा पनि १० जनाको कोभिडका कारण मृत्यु भएका छन ।

प्रदेश २ का अन्य जिल्लामा भने मृत्युको संख्या दोहोरो अंकमा छैन । कोरोनाले वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी एक महिलाको संक्रमणले ज्यान गएको थियो । वाग्मतीमा मृत्यु भएकामध्ये अधिकांश अस्पतालमा उपचाररत थिए । यो प्रदेशमा संक्रमित हुनेको कुल संख्या ५ हजार ४ सय ९४ रहेको छ भने निको हुनेको संख्या केवल ९ सय १९ छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ७५ छ ।

प्रदेश ५ मा २३ जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ९ सय २२ छ । यो प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १० जनाको ज्यान गएको छ । मुलुकमा सबैभन्दा पहिलोपटक दोस्रो स्तरको संक्रमण देखिए पनि यो प्रदेशमा धेरै हताहती भएका छैनन ।

हाल यो प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ६ सय ३१ रहेको छ । तीमध्ये ४ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गण्डकीमा संक्रमितको संख्या २ हजार ६५ छ । कर्णालीमा २ हजार ४ सय २ जनालाई संक्रमण देखिएको छ जहाँ ४ जनाको मृत्यु भएको समाचार आजको कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया