चीनले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको बताएको छ।
बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले संक्रमणको उच्च विन्दु पार गरेर अहिले घटिरहेको बताए।
नयाँ संक्रमित बिरामीहरू घट्दै गएपछि प्रवक्ता फेङले जोखिम कम भएको दाबी गरेका छन्।
कोरोना भाइरसको उदगम थलो हुबेई प्रान्तको वुहान सहरमा बुधबार आठ जनामा मात्र नयाँ संक्रमण देखिएको थियो। हुबेई प्रान्तबाहिर सात जनामा कोरोना भेटिएको थियो। उनीहरू मध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन्।
एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले ‘लक डाउन’ गरिदिएको थियो।
नयाँ बिरामी आउने क्रम स्वाट्टै घटेपछि रातारात बनाइएका आपतकालीन अस्पतालहरू पनि बन्द गरिएका छन्। यद्यपी अधिकारीहरूले अझै पनि महामारी फर्किन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए।
६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।
कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन्। यस्तै बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ।
कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।
‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’ संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेका छन्, ‘आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देश संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’
चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्।
टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।
विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।
‘अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।